पैसाका लागि काम गरेको भए सायद सहरी क्षेत्रमा बसेर कमाइ राखेको हुने थिएँ - Pahilo Online

पैसाका लागि काम गरेको भए सायद सहरी क्षेत्रमा बसेर कमाइ राखेको हुने थिएँ

writer

पहिलो अनलाइन

केवल बस्नेत सञ्चालक शनिश्चरे डायग्नोष्टिक सेन्टर, पथरीशनिश्चरे–४ मोरङ

दिनचर्या कसरी बिताइरहनु भएको छ ?
दिनचर्या भन्नु पर्दा ठिकै छ । यत्तिकै जाडो छ । त्यस्तै बिरामीहरु पनि कम नै आइरहेको अवस्था छ ।

जाडो मौसममा कस्ता किसिमका बिरामीहरु आउने गर्छन् त ?
विशेषगरी श्वासप्रश्वास सम्बन्धी बिरामीहरु आउने गरेका छन् । यसमा पनि रुगामर्की अनि निमोनिया सम्बन्धी बिरामीहरु आउँछन् । निमोनिया पनि २ किसिमका हुन्छन् । एउटा श्वासमार्गको तल्लो भागमा र अर्को माथिल्लो भागमा हुने हुन्छन् । जसमध्ये (यु.एफ.टी.आई) माथिल्लो भागमा असर पर्ने बिरामीहरु बढी आउने गरेका छन् । यस बाहेक प्रायःजसो चाहिँ कोल्ड डायरियाका बिरामीहरु आउँछन् ।

मौसमी फ्लुबाट बच्न केके गर्नुपर्छ ?
हामीले आफ्नो दिनचर्यालाई विशेष ध्यान दिनुपर्छ । जस्तैः जाडो मौसममा मर्नीङ वाक नगर्ने, न्यानो कपडा लगाउनुपर्छ । तातो तरल पदार्थ खाने गर्नुपर्छ । अनि जाडोबाट बच्ने सबै उपाय अपनाउनुपर्छ ।

कुन उमेर समुहका मानिसलाई जाडो मौसममा बढी समस्या आउने गर्दछ ?
विशेषगरी बच्चा र वृद्धलाई बढी समस्या आउने गर्छ । जसमा सीओपीडी श्वासप्रश्वाससँग सम्बन्धित जस्तै दम, खोकी आदिका बिरामीहरु पर्दछन् । यिनीहरुलाई कोल्ड एलर्जी गराउँछ । दमका रोगीहरु बढी मात्रामा प्रभावित हुन्छन् । बच्चाहरुमा पनि इम्युनिटी पावर रोगसँग लड्न सक्ने क्षमता कम भएको कारणले सामान्य रुगामर्कीलाई पनि पचाउन सक्दैनन् र त्यसबाट नै निमोनिया डेभलप हुने सम्भावना हुन्छ । वृद्धहरुमा पनि अलि बढी दमका रोगीहरुलाई असर गर्ने गर्दछ ।

यस अस्पतालमा केके सेवासुविधा उपलब्ध छन् ?
दैनिक साधारण सेवाहरु उपलब्ध नै छन् । त्यो देखिबाहेक विशेषज्ञ सेवाहरु जस्तै हाडजोर्नीसँग सम्बन्धित केसहरुलाई चाहिँ विशेषज्ञ उपलब्ध गराएर स्थानीय रुपमा नै सेवा दिंदै आइरहेका छौँ । साप्ताहिक रुपमा फिजिसियन सेवा जसमा सुगर, प्रेसर, दमसँग सम्बन्धित कन्सल्टेन्टलाई बोलाएर सेवा उपलब्ध पनि गराइरहेका छौँ । साप्ताहिक रुपमै भिडियो एक्सरेको पनि सेवा उपलब्ध छ । दैनिक रुपमा मेडिकल अफिसरको सेवा पनि दिने गरेको छ, जसमा भिडियो एक्सरे पनि पर्छ । अन्य सेवामा प्रयोगशाला सेवा पनि निरन्तर छ । फार्मेसी तथा जेनेरल ओपिडी सेवा पनि निरन्तर रुपमा उपलब्ध गराएका छौँ ।

यहाँ उपचार हुन नसकेको बिरामीलाई कहाँ रेफर गर्नुहुन्छ ?
बिरामीलाई यही ठाउँमा भनेर चाहिँ फोकस गर्दैनौँ । किनभने यहाँ उपचार हुन नसके विशेषज्ञ जहाँ हुन्छन्, त्यही पठाइने गरिन्छ । त्यस्तै त्यो कुन कुरासँग सम्बन्धित छ, त्यसबारेमा सल्लाह पनि दिने गरेको छ । यहाँ उपलब्ध प्राथमिक उपचार दिइसके पनि उहाँको आफ्नो लिङ्क भएको, आफन्त भएको र सहयोग हुने स्थानमा रिफर गर्ने गरेका छौँ । प्रायजसो हामीले बिराटनगर र घोपामा बिरामीलाई रिफर गराउने गरेका छौँ ।

ग्रामीण क्षेत्रमा अस्पताल सञ्चालन गर्नु कत्तिको चुनौती हुँदो रहेछ ?
धेरै चुनौती छन् । स्थानीय स्तरमा दिएका सेवाप्रति मानिस अलिकति शंका मान्ने गर्दछन् । यहाँ पनि हुन्छ र ? भन्ने शंका उनीहरुमा आउने गर्छ । जस्तै एउटा बिरामी उपचारका लागि बिराटनगरमा विशेषज्ञ कहाँ पुग्छ तर त्यही विशेषज्ञलाई यहाँ उपलब्ध गराएमा मानिसहरु शंका मान्ने हुन्छ । बिरामीले त्यहाँ सामान्य चेकजाँच गर्दा र अलि महँगै भएपनि तिर्नलाई आपत्ति मान्दैनन् तर यहाँ आएर ती बिरामीले त्योभन्दा कममा चेकजाँच गर्दा पनि शंका मान्ने हुन्छ । खासमा भन्नु पर्दा ठाउँअनुसारको सेवा उपलब्ध गराउन पर्ने रहेछ । ग्रामीण क्षेत्रमा विशेषज्ञ अति नै आवश्यक हो । किनभने स्थानीयलाई सहयोग पुग्छ । सबै एउटै स्तरका मानिस हुँदैनन् । कोही विपन्न वर्गका पनि हुन्छन् र तिनीहरुलाई असाध्यै सहयोग पुगिरहेको छ । तर यो कुरा सबैले बझ्दैनन् । पहुँच हुने मानिसहरु सबै टाढै जान र उपचार गर्न चाहन्छन् । उनीहरु स्थानीय स्तरको सेवा उपयोग गरौँ भन्ने चाहँदैनन् । तर यसले गर्दा निम्न वर्गका मानिस भने स्थानीय सेवा उपयोग गर्न बाध्य छन् र सेवा लिइरहेका छन् । जसबाट उनीहरु एकदमै लाभान्वित पनि भइरहेका छन् ।

अस्पताल कुन उद्देश्यले सञ्चालनमा ल्याउनु भएको हो ?
मेरो मुख्य उद्देश्य भनेको ग्रामीण क्षेत्रमा बसेर आफूले सिकेको सिपलाई ग्रामीण स्तरमै वितरण गरौँ भन्ने हो । यदि पैसाका लागि गरेको भए सायद सहरी क्षेत्रमा बसेर कमाइ राखेको हुने थिएँ । तर त्यो भन्दा आफ्नै स्थानमा बसेर ग्रामीण क्षेत्रमा विशेषज्ञ सेवा उपलब्ध गराउँदा आफ्नै मानिसहरु लाभान्वित हुने छन् भन्ने विचारले ग्रामीण क्षेत्रमै बसेर अस्पताल सञ्चालन गरेको हो ।

ती उद्देश्यहरु पूरा भए त ?
केही हदसम्म त पूरा हुँदै छन् । अहिले चाहिँ राम्रै छ । धेरै मानिसहरु सन्तुष्ट भइरहेको देखेको छु । स्थानीय मानिसहरु ग्रामीण क्षेत्रमै एउटा विशेषज्ञले दिने सेवा पाइयो भनेर खुशी नै छन् ।

कति लगानीमा अस्पताल स्थापित भएको हो ?
यकिन चाहिँ छैन । क्रमशस् विस्तार गर्दै लगिएको हो । सुरुमा फार्मेसी मात्र थियो । एक्सरे र हाडजोर्नी सँग सम्बन्धित बिरामी आएकाले त्यसपछि प्रयोगशाला विस्तार भएको हो । त्यस्तै विशेषज्ञ पनि उपलब्ध गराइयो । यसरी नै अस्पताल सञ्चालनमा आइरहेको छ ।

यस अस्पतालमा कस्ता किसिमका रोगहरुको उपचार हुन सक्दैन ?
दीर्घ रोग, रोकथाम गर्ने रोग हुन्छन् । रोकथाम गर्ने रोगलाई रोकथाम मात्र गर्न सकिन्छ । रोगको पहिचानका लागि प्रमाणित गर्न विशेषज्ञ कहाँ पठाउछौँ । रोगको पहिचान भएपछि मात्र बिरामीलाई सामान्य बेड केयर सेवा दिने गर्छौ । जस्तै प्रेसरले प्यारालाइसिज गरिसकेका मानिसलाई घरमै गएर युरिनल केयर गर्ने, पिसाबको पाइप लगाइदिने र पोजिसन चेन्ज गर्ने सल्लाह दिने गरेका छौँ ।

आगामी योजनाहरु के के छन् ?
सेवा विस्तार गर्ने पक्षमा छु । त्यस्तै क्रमशः प्रयोगशालामा आधुनिक उपकरणको विस्तार गर्ने योजनामा छु । अन्य सेवामा दन्त रोगसँग सम्बन्धित सेवा दिने विचारमा छु । दैनिक विशेषज्ञको सेवा दिने सोच छ । कम्तिमा डेण्टल हाइजिनिक सम्मको सेवा दिने योजना भएतापनि यस सम्बन्धि जनशक्ति कमै भएकाले योजना मात्र बनाइएको छ । यसको कार्यान्वयनमा अलि समय लाग्ने छ । त्यो भन्दा अघि प्रयोगशालाको पक्षमा जोड दिइरहेको छु ।

विपन्न वर्गका मानिसलाई कस्तो किसिमको सेवासुविधा दिइरहनु भएको छ ?
यदि बिरामी शारीरिक रुपमा अशक्त, अपाङ्गता छ भने सहुलियत गर्ने गरेका र्छौँ । यति नै छुट दिने गरेको छ भनेर प्रतिशत नै तोक्न कठिन छ । कम्तिमा १० देखि २० प्रतिशतसम्मको छुट गर्ने गरेका छौ । त्यस्तै विपन्न छन् भने निःशुल्क समेत उपचार गर्ने गरेका छौँ । जस्तै मानसिक रुपले कमजोर मानिसहरु यसमा पर्दछन् ।

कुराकानीको अन्त्यमा केही भन्न चाहनु हुन्छ ?
ग्रामीण क्षेत्रको विकास गर्नका लागि हामी सबै जुट्ने हो । यहाँ स्थानीय स्तरमा उपलब्ध सेवासुविधा उपयोग गरियो भने आफ्नै क्षेत्रको विकास हुन्छ । त्यसैले ग्रामीण क्षेत्र बनाउने उद्देश्य भनेको हाम्रै हो । हामी सबै एकजुट भएर लाग्नुपर्छ । एकअर्काको साथसहयोग भयो भने र उपलब्ध सेवालाई विस्तार ग¥र्यौँ भने यहीका स्थानीय जनतालाई नै फाइदा हुने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes