मोरङ — समाजप्रतिको अलगाव, व्याप्त निराशा, अवैध यौन सम्बन्ध र मानसिक समस्याका कारण प्रदेश १ मा पछिल्ला केही वर्षयता आत्महत्याका घटना बढदै गएका छन् । प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको तीन वर्षको तथ्याङलाई हेर्दा प्रदेशमा आत्महत्या गर्नेको संख्या बर्षेनी बढिरहेको देखिन्छ ।
प्रदेश एकमा ०७३र७४ मा जम्मा १ हजार ८९ जनाले आत्महत्या गरेका थिए । त्यसमध्ये ५ सय ७३ जना पुरुष र ४ सय ४८ जना महिला छन् । आत्महत्या गर्नेको यो संख्या बढेर ०७४।७५ मा ११ सय ६९ पुगेको देखिन्छ । जसमध्ये पुरुषहरू ६ सय ७३ जना र महिला ४ सय रहेका छन् ।
यो संख्या आव ०७५।७६ मा झन बढेको देखिन्छ । ०७५।७६ मा आत्महत्या गरेका १२ सय ३५ जना मध्ये ७ सय ८१ जना पुरुष छन् भने महिला ३ सय २२ जना छन् । प्रदेशमा बालबालिकाको आत्महत्याको घटना समेत बढी रहेको प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी प्रहरी उपरीक्षक किशोरकुमार दाहालले बताए । आत्महत्या गर्ने बालकभन्दा पनि बालिका बढिरहेको उनले जानकारी दिए । उनले दिएको तथ्याङ अनुसार प्रदेशमा ०७३।७४ मा २३ जना बालक र ४५ जना बालिकाले आत्महत्या गरेका थिए ।
आव ०७४।७५ मा यो संख्यामा वृद्धि भएर आत्महत्या गर्ने बालकको संख्या ३८ र बालिकाको संख्या ५८ पुगेको देखिन्छ । त्यस्तै गत आवमा यो संख्या झन बढेको देखिन्छ । गत आवमा ४९ जना बालक र ८३ जना बालिकाले आत्महत्या गरेका छन् । यसमध्ये पनि १४ जिल्ला रहेको प्रदेश एकमा अन्य जिल्लाको तुलनामा मोरङ र सुनसरीमा आत्महत्या गर्नेको संख्या बढी देखिएको दाहालले बताए ।
गत आवमा सबैभन्दा बढी झापामा २ सय ९३ जनाले आत्महत्या गरेको प्रहरी तथ्याङले देखाउँछ । जसमध्ये १ सय ७७ जना पुरुष, ८७ जना महिला, १४ जना बालक र १५ जना बालिका रहेका छन् । त्यसपछि अन्य जिल्लाभन्दा बढी मोरङमा २ सय ३२ जनाले आत्महत्या गरेका थिए । यसमध्ये १ सय ३१ जना पुरुष ६१ जना महिला, १७ जना बालक र २३ जना बालिका रहेका छन् । सुनसरीमा १ सढ ६४ जनामा १ सय २३ जना पुरुष, २६ जना महिला र १५ जना बालिका रहेका छन् । सुनसरीमा गतवर्ष बालकहरूको आत्महत्या गर्ने संख्या शून्य रहेको देखिएको छ ।
सबैभन्दा बढी आत्महत्या गर्नेको संख्या झापामा देखिए पनि बालबालिकाको आत्महत्याको संख्यामा मोरङ अगाडि देखिएको छ । ‘बालबालिका आत्महत्याका पछाडि विभिन्न कारणहरू छन्,’ मोरङका प्रहरी प्रमुख विश अधिकारीले भने, ‘अनुसन्धान गर्दै जाँदा प्रेम सम्बन्धमा असफलता, कुलत र पारिवारिक स्नेहको कमीका कारण आत्महत्या गर्नेगरेको पाइएको छ ।’