विराटनगर । माईतीपक्षले दाईजो नदिएको भन्दै एक महिलाको जोगवनीमा हत्या भएको छ । विराटनगर ११ पञ्चमुखी चोकका मनिकचन्द सहनीको २२ वर्षीय छोरी रञ्जुदेवी सहनी(बहरदार) को जोगवनीमा हत्या भएको हो । रन्जुको हत्या पछि भारतको अररिया जिल्ला स्थित परवाना नदीको मिरगन्ज पुल नजिकै शवलाई पानीमा डुबाएर राखेको अवस्थामा भेटिएको छ । उनको शव स्थानियवासीले खोलामा देखे पछि जोगबनी प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीको निर्देशनमा मृतकका शबलाई आफन्तले खोलाबाट निकालेका छन् । शवको पोष्टमार्टम पछि नेपाल नै ल्याएर दाहसंस्कार गरिने मृतकका माईती पक्षले बताएका छन् । हत्यामा संग्लन चार जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । जोगबनी प्रहरी थानाका ईन्चार्ज अफताब अहमदका अनुसार रन्जुका श्रीमान् भीम बहरदार, जेठाजु अर्जुन बहरदार, ससुरा सैनी बहरदार, छिमेकी शिवानन्द मुखिया पक्राउ परेको छन् ।
हत्यामा संलग्न चारजना विरुद्ध रन्जुका माईती पक्षले भारतीय प्रहरी समक्ष ज्यान मुद्दा दर्ता गराएका छन् । पक्राउ परेको ४ जना माथि थाना कार्ड नम्बर ३०३ र १९ को दफा ३०४ बि, २०१ र भारतीय दण्ड विधान ३४ अन्तर्गत मुद्दा दर्ता भईसकेको जोगबनी प्रहरी थानाले जनाएको छ ।