काठमाडौं । नियमित कप्तान पारस खड्काले कप्तानबाट राजीनामा दिएपछि नेपाली राष्ट्रिय क्रिकेट टिमको कप्तानमा ज्ञानेन्द्र मल्ल चयन भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको छ ।
ओपनर ब्याट्सम्यान ज्ञानेन्द्र यसअघि नेपाली टोलीको उपकप्तान रहेका थिए । क्यानका सचिव अशोक नाथ प्याकुरेलले अर्को निर्णय नहुदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिएको बताए । ’कप्तान पारसको राजीनामा आईसकेपछि र फेरी कप्तानमा उनी नफर्कने बताएपछि अध्यक्ष, सचिव र प्राविधिक समितिको छलफलले अर्काे निर्णय नहुँदासम्म ज्ञानेन्द्रलाई कप्तानीको जिम्मेवारी दिइएको छ’ प्याकुरेलले खेलपाटीसँग भने ।
सचिव प्याकुरेलले मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको सिरिज नेपालले ज्ञानेन्द्रको कप्तानीमा मैदान उत्रने बताए । ’नेपालले यसै साता एमसीसीसँग खेल्दैछ र चांडै नेपालले धेरै सिरिज खेल्दैछ । जसको लागि हामीले ज्ञानेन्द्रलाई कप्तान बनाएका हौं । अर्को निर्णय नभएसम्म अरु कप्तान हुने छैनन्,’ सचिव प्याकुरेलले थपे । नेपाली टोलीको उपकप्तानमा भने दिपेन्द्र सिंह ऐरीलाई चयन गरिएको छ ।
पारसले गत असोज २८ गते सामाजिक संजालबाट कप्तानी छाडेको घोषणा गरेका थिए । तर, उनले आइतबार मात्र क्यानलाई औपचारिक रुपमा मेलबाट राजीनामा पत्र बुझाएका थिए । पारसको राजीनामा पाएसँगै क्यानले ज्ञानेन्द्रलाई टिमको नेतृत्व गर्ने जिम्मेवारी दिएको हो । यसअघि ज्ञानेन्द्रले पारसको अनुपस्थितिमा पनि कप्तानी सम्हाल्दै आएका थिए ।
अब नेपालले लिगेसी टुरका लागि नेपाल भ्रमण गर्ने एमसीसी टिमसँगको सिरिज ज्ञानेन्द्रको कप्तानीमा खेल्नेछ । इंग्ल्यान्ड तथा विश्वकै सबैभन्दा पुरानो क्रिकेट क्लब एमसीसी टिम बिहिबार नेपाल आइपुग्ने छन् । एमसीसीको टिमले नेपालको राष्ट्रिय टिम र यू–१९ टिमसँग विभिन्न सिरिज खेल्ने कार्यक्रम रहेको छ ।