काबुल । अफगानिस्तानको राजधानी काबुलमा बुधबार बिहानको अतिव्यस्त समयमा भएको एक विस्फोटमा कम्तीमा सातजनाको मृत्यु भएको छ ।स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो ।
यस विस्फोटमा अन्य सातजना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्वीटरमार्फत् जानकारी दिएका छन् । शक्तिशाली विस्फोट भएको नजिकै रहेका भवनहरू, केही पसल र सवारी–साधनमा क्षति पुगेको जनाइएको छ ।
गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीपलक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताएका छन् । बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ । उक्त आक्रमणको हालसम्म कुनैपनि समूहले जिम्मा लिएको छैन ।