सन्तोष राई । पथरीशनिश्चरे । लगडाउनको अवधिमा पथरीशनिश्चरे नगरपालिकाले लागू गरेको नियम उल्लंघन रोक्न वडा नं ४ ले वडामा रहेका मुख्य बजारका पसल अनुगमन गरेको छ । मंगलबार वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी, सदस्य अम्बर बहादुर बराइली, नगर कार्यपालिका सदस्य भद्रमान् विश्वकर्मा, शनिश्चरे ससस्त्र वेश क्याम्पका सुरक्षाकर्मी, कुशेचौरी प्रहरी चौकीका सुरक्षाकर्मी र सञ्चार कर्मीको टोलिले अनुगमन गरेको हो ।
वडाको मुख्य बजार शनिश्चरेमा अत्यावस्यक बाहेकका सबै पसल बन्द रहेको थियो । कुशल बजारमा ६ वटा किराना लगायतका पसल खुल्ला रहेको र टोलिपुगेपछि हतार हतार बन्द गरेका थिए । शिरिसे डाँडामा ७ वटा किराना लगायत खाजाघर खुल्ला पाइएको र टोलि पुगेपछि बन्द गराएका थिए । त्यसैगरी किर्तिपुर बजारमा अत्यावश्यक बाहेका २ वटा पसल खुल्ला पाइएको थियो त्यहाँ पनि टोलिले बन्द गराएका थिए। एक पसलमा बाहिर जिल्लाबाट सामान ढुवानी गरी अनलोड गर्दै गरेको अवस्थामा पाइएपछि कार्वाहिको चेतावनी सहित सेनिटाइज गरेर मात्र सामान स्टोर गर्न निर्देशन दिइएको थियो । अनुगमन टोलिले तोकिएको समयमा मात्र पसल खुल्ला गर्न निर्देशन दिएको छ । अर्को पटक यस्तै अवस्थामा पाइए कार्वाहि गर्ने चेतावनी समेत दिएको थियो ।
अनुगमनको क्रममा बन्द नै रहन भनेको अटो लगायतका साना सवारी साधन सडकमा चलिरहेको पाइएको थियो । कतिपय मानिसले हिँडडुल गर्दा, समुहमा हुँदा र निर्माण कार्य गर्दा मास्क नलगाएको र सामाजिक दुरी कायम नगरीएको पाइएपछि स्वास्थ्य मापदण्ड अपनाउन पनि अनुरोध गरीएको थियो । कतिपय सर्वसाधारणले आउदै गरेको चाडपर्व राम्ररी मनाउन नपाइने भएकोले दुखेसो समेत गरेका थिए । टोलिले चार्डपर्व मनाउदा समेत घरका सदस्य मात्र रहेर मनाउन र आफन्तसंग सामाजिक सञ्जाल मार्फत खुशी र शुभकामना आदन प्रदान गर्न समेत सुझाव दिएका थिए।
पथरीशनिश्चरे नगरको निर्णय अनुसार आउदो भाद्र ७ गतेसम्मका लागि लगडाउन घोषणा गरीएको छ। पसलमा कम्तिमा डेढ मिटरको सामाजिक दूरी कायम गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने, साबुनपानीले हात धुने वा सेनिटाइजर प्रयोग गर्नुपर्ने, हातमा ग्लोब लगाउनु पर्ने उल्लेख गरिएको छ । कोरोनाबाट बच्न स्वास्थ्य सतर्कताका लागि नगरपालिकाले अन्यतर्फका सब्जी तथा फलफुल पसलहरु पनि उसैगरी स्वतः व्यवस्थित गर्न व्यवसायीलाई अनुरोध गरेको छ । सिटी सफारी, अटो रिक्सा सहितका यातायातका सम्पूर्ण साधन सञ्चालन नगर्न तथा घरभित्रै बसेर लकडाउनलाई पूर्ण रुपले पालना गर्न समेत अनुरोध गरेको छ ।
अत्यावस्यक खाद्यान्न, अस्पताल, क्लिनिक, औषधि पसल, एम्बुलेन्स, सववाहन, दुग्धजन्य पदार्थ, पानी बोक्ने गाडी भनें खुला नै रहने निर्णय भएपनि नगरपालिका कार्यालय, वडा कार्यालयका प्रशासनिक सेवा सहित सरकारी तथा गैरसरकारी कार्यालय, यातायातका सम्पूर्ण साधन वन्द रहनेछन् । बैंक तथा वित्तीय संस्था भनें विहान १० बजेदेखि दिउँसो १ बजेसम्म मात्र सञ्चालनमा रहनेछन् । कोरोना सर्न सक्ने भएकाले सागसब्जी र फलफुल भनें यस पालिका बाहिरबाट नल्याउने निर्णय गरिएको छ ।
हालसम्म वन्द नै रहन सरकारले सूचित गरेका शैक्षिक संस्था, होटल, रेष्टुरेन्ट, लज, जिमखाना, व्यूटिपार्लर, फिल्म हल, धार्मिक तथा पर्यटकीयस्थलहरु पूर्ण वन्द नै राख्नु पर्ने निर्णय छ । लकडाउनको समयमा ७० वर्षमाथिका ज्येष्ठ र १२ वर्षमुनीका बालबालिकालाई घर बाहिर ननिस्किन विशेष अनुरोध समेत गरिएको छ । लकडाउनको उल्लंघन गर्ने र मास्क नलाउनेलाई प्रहरीले जरिवाना समेत गर्ने प्रहरीको परिपत्र छ ।