खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङमा चाम्लिङ भाषामा पठनपाठनको तयारी पूरा भएको छ । पठनपाठनका लागि शिक्षक छनोट र पाठ्यपुस्तक व्यवस्थापन पूरा गरीएको छ । लफ्याङका एक माध्यमिक विद्यालयसहित चारवटा विद्यालयमा चाम्लिङ भाषामा पठनपाठन थाल्ने तयारी भइरहेको हो ।
चाम्लिङ राई भाषीको बाहुल्य रहेको लफ्याङमा ऐच्छिक विषयका रूपमा चाम्लिङ भाषामा पठनपाठन गर्ने निर्णय गरिएको वडाध्यक्ष निर्मल राईले बताए । उनका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४, मातृभाषा शिक्षासम्बन्धी नियम, कानुन र व्यवस्थाअनुसार वडाका विद्यालयमा चाम्लिङ भाषाको पठनपाठन गर्न लागिएको हो ।
चालु शैक्षिक सत्रबाट कक्षा १ देखि ऐच्छिक विषयका रूपमा चाम्लिङ भाषामा पठनपाठन थाल्ने तयारी गरिए पनि कोरोना महामारीका कारण कक्षा सञ्चालन गर्न नसकिएको उनले बताए । शिक्षक छनोट र पाठ्यपुस्तक भने व्यवस्थापन भइसकेको छ ।
उनका अनुसार किरात राई चाम्लिङ खाम्बातिम र किरात राई यायोक्खाले प्रकाशन गरेको पाठ्यपुस्तकलाई उपयोग गरिनेछ । उक्त भाषा पठनपाठनका लागि सम्बन्धित विद्यालयमा कार्यरत चाम्लिङ भाषी शिक्षकलाई छनोट गरिएको छ । श्री मावि, मझुवा, बास्बोटे मावि, बालविकास प्रावि, बरडाँडा, सालतीदेवी प्रावि, खर्कडाँडा, शारदा प्रावि, दोरुङ, जनचेतना आधारभूत विद्यालय, दोखुमका गरी करिब ६० बालबालिकाले चाम्लिङ भाषा पढ्नेछन् ।
चाम्लिङ राईको बाहुल्य रहेको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका आठ विद्यालयमा २०६५ देखि एक विषय चाम्लिङ राई भाषामा पठनपाठन सञ्चालन हुँदै आएको छ । धितुङमा बुलापन्थे मावि, सूर्यज्योति मावि, जनचेतना प्रावि, सर्वावती प्रावि, दलित जनजारण प्रावि, जनकल्याण प्रावि, सर्वावती प्राविमा कक्षा ५ सम्म तथा पारुहाङशरण प्राविमा कक्षा ३ सम्म एक विषय चाम्लिङ भाषामा पठनपाठन हुँदै आएको छ ।
सर्वावती प्राविमा चाम्लिङ भाषीले मात्र नभएर सबै जातजातिका विद्यार्थीले चाम्लिङ भाषाकै पाठ्यक्रम अध्ययन गरिरहेका बुलापन्थे माविका शिक्षक रकम रोदुङले बताए । चाम्लिङ राई भाषाको पठनपाठनका लागि हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षमा दुई लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।