उदयपुर । १ नं प्रदेशको उदयपुर र खोटाङ जिल्ला जोड्ने सुनकोशी नदीमा निर्माण गरिएको अस्थायी बेलिब्रिज सञ्चालनमा आएको छ। उदयपुरलाई पहाडी जिल्लाहरुसँग जोड्ने गाईघाट–दिक्तेल सडकखण्डअन्तर्गत उदयपुरको रौतामाई गाँउपालिका–५ आँपटारको फोक्सिङटार र खोटाङको खाटेहाङ गाँउपालिका–१ लिक्चिराम्चेको बीचमा पर्ने सुनकोशीमा निर्माण गरिएको अस्थायी बेलिव्रिज सञ्चालनमा आएको हो।
गाईघाट–दिक्तेल सडक आयोजनाको करिब ८४ लाखमा रेग्मी निर्माण सेवा गाईघाटले गत मंसिर ५ गतेदेखि जडान सुरु गरेको अस्थायी बेलिव्रिज सञ्चालनमा ल्याइएको गाईघाट–दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इन्जिनियर गोपाल खकुरेलले जानकारी दिए। हिउँदभर सञ्चालन गर्ने र वर्षामा झिक्ने गरी फोक्सिङटारमा ६ वर्षदेखि हरेक वर्ष करिब ५० मिटर लम्बाईको अस्थायी बेलिब्रिज लगाइँदै आएको छ।
१०१ किलोमिटर लामो गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने फोक्सिङटारमा बेलिब्रिज सञ्चालनमा आएसँगै पहाडी छिमेकी जिल्ला खोटाङ, ओखलढुङुगा, भोजपुरलगायतका जिल्लाहरुमा आवतजावतका लागि सहज भएको छ। बेलिब्रिज नहुँदा उदयपुर र खोटाङको गाडी कोशीवारिको वारि नै र पारिको पारि नै रोकेर राखिन्थ्यो। फोक्सिङटार अस्थायी बेलिब्रिज राख्ने र झिक्ने क्रममा वार्षिक ८० लाख रुपैयाँको खर्च हुँदै आएको छ।