पथरी शनिश्चरे, पथरी शनिश्चरे नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत दोस्रो पटक सडक नाटक प्रदर्शन गरिएको छ ।
आज पथरी शनिश्चरे वडा नं. २ को बुद्धचौकमा नाटक प्रस्तुत गरिएको छ । नाटक हेर्न स्थानीय वडावासी र विद्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो । दोबाटे समूहका कलाकारहरु हरेन्द्र खत्री, भीष्म न्यौपाने, पूर्णकला राई, प्रेम गुरुङ, मेनुका कुलुङ, विक्रम धिमाल, दिपा ढकाल लगायत कलाकारको प्रस्तुति रहेको नाटकलाई सबैले रुचाएका थिए । नाटकको निर्देशन हरेन्द्र खत्री र भीष्म न्यौपानेले गरेका हुन् ।
सडक नाटक प्रर्दशनीमा वडा नं. २ अध्यक्ष नैना राई, वडा सदस्यहरूको उपस्थिति रहेको थियो । यस्तै पथरीशनिश्चरे नगरपालिकाका प्रमुख मोहन प्रसाद तुम्वापोको प्रमुख आतिथ्यता रहेको थियो । सो सडक नाटक मंसिर २४ गते वडा नं. ४ को शनिश्चरे बजारमा प्रदर्शन गरी समापन गरिनेछ ।