मोरङ । मोरङको पथरीशनिश्चरेमा मिटरब्याजमा ऋण लगानी गरेर सर्वसाधारणलाई उठिबास लगाउनेलाई कारबाही गर्न स्थानीयले माग गरेका छन् । यहाँका स्थानीय, राजनैतिक दल र विभिन्न सङ्घ–सङ्गठनहरूले मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेर यस्तो माग राखेका हुन् ।
अनुचित लेनदेन मिटरब्याज जस्तो गम्भीर सामाजिक अपराधलाई नियन्त्रण गर्न र पीडितलाई कानूनी तथा सामाजिक न्याय दिन प्रशासनसँग माग गरिएको स्थानीय अर्जुन जम्नेली राईले बताए । ‘पथरीमा पछिल्लो समय मिटर ब्याजको आतङ्क देखिएको छ । यस्तो अपराध जरैदेखि निर्मूल पारी पीडितलाई न्याय दिलाउने काम प्रशासनले गर्नुपर्दछ’ उनले भने, ‘मिटर ब्याज जस्तो अपराध जरैदेखि उखेलेर फाल्न र पीडिकहरूलाई छानबिन गरी हदैसम्मको कारबाही गर्न हामीले पथरीमा सर्वपक्षीय भेलाबाट निर्णयसमेत गरेका छौं ।’
मोरङको पथरीशनिश्चरे नगरपालिका–२ की ४१ वर्षीया राजकुमारी राईले मिटरब्याजमा ११ वर्षअगाडि लिएको ५० हजार रुपैयाँ ऋण अहिले उनलाई गलपासो बनेर आएको छ ।
फूलको व्यापार गर्दै आएकी राईले ०६९ मा भाइ धनबहादुरलाई वैदेशिक रोजगारीमा मलेसिया पठाउनको लागि पथरीशनिश्चरे–८ की धनमाया राई पौडेलसँग ५० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ५० हजार ऋणको ब्याज १५ दिनमा पाँच हजार रुपैयाँ बुझाउँदै आएको उनी बताउँछिन् । २०७६ सालसम्मा उनले ऋण लिएको धनमायालाई ५० हजारको साँवा र ब्याज गरेर २५ लाख रुपैयाँ दिइसकेको राजकुमारीको भनाइ छ ।
अझै ९ लाख रुपैयाँ दिनुपर्ने भन्दै धनमायाले दिनरातको टर्चर दिने गरेको उनले सुनाइन् । ‘५० हजार रुपैयाँ लिएको ऋणको ब्याज १५ दिनमा ५ हजार रुपैयाँ दिने गरेको थिएँ । ब्याज तिर्न नसकेपछि सावाँमा गाभ्ने गरेको थियो । त्यसपछि १ लाखको १० हजार ब्याज हुन थाल्यो । फूलको पसल गर्दै आएको थिए । ६ वर्षमा मैले २५ लाख दिइसकेँ । अझै ९ लाख दिनुपर्ने भन्दै अहिले दिनहँु धम्की आउने गरेको छ । गाउँमा मिटरब्याजमा ऋण लगाउने धनमाया र उनका केटाहरूको गाली सहन नसकेपछि गाउँको भद्रभलाद्मीलाई भनेर जिल्ला प्रशासन कार्यालय मोरङमा उजुरी दिन आएका छौं’ जिप्रकामा भेटिएकी राजकुमारीले भनिन्, ‘गाउँमा मिटरब्याजको आतङ्कले सहन नसक्ने भयौं । हामीलाई न्याय दिलाइदिन हामी पीडितहरू प्रशासनमा आएका हौँ ।’
यसरी मिटरब्याजमा लगानी गर्ने पथरीकी धनमाया राईबाट पीडित भएर आएकी राजकुमारी मात्रै होइन् । उनीसँगै आएकी अर्का पीडित पथरीकी लीलावती राईको पनि समस्या उस्तै छ । उनले पनि धनमायासँग एक लाख रुपैयाँ ऋण लिएकी थिइन् । एक लाखको १९ लाख रुपैयाँ दिइसक्दा पनि अझै सावाँ र ब्याज तिनुपर्ने भन्दै धम्की दिने गरेको गुनासो गरिन् । ‘विभिन्न मितिमा ऋण लिएको १ लाखको २९ लाख रुपैयाँ बुझाइसकेँ । धनमायाले उल्टै खाली चेक लगेर १२ लाख ६० हजार तिर्नुपर्ने देखाउँदै अहिले चेक बाउन्सको मुद्दा हाल्नुभएको छ’–पीडित लीलावतीले भनिन् ।
लेनदेनको कागज नदेखिए पनि लीलावतीले धनमायालाई चेक दिएका थिए । ऋण लिँदा ग्यारेन्टीका लागि दिएको ब्ल्याङ्क चेकमा धनमायाले मनलाग्दी रकम भरेर आफूलाई फसाएको उनको भनाइ छ । धनमायाबाट पथरीशनिश्चरेका राजकुमारी राई, चन्द्रकला राई, गङ्गा राई, देवकी पौद्दार पीडित भएको भन्दै मिटरब्याजमा लगानी गर्नेलाई कारबाहीको माग राख्दै उनीहरूसहित पथरीशनिश्चरेका पूर्व नगर प्रमुख दिलिपकुमार राईसहित विभिन्न राजनैतिक दल र संघ–संस्थाका प्रतिनिधिहरूले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेका छन् । उनीहरूले गाउँका सिधासाधा सर्वसाधारणलाई मिटरब्याजमा ऋण लगानी गर्ने र उनले भनेजति रकम नदिए उठिबास लगाउने धम्की दिनेलाई कारबाहीको माग राखेका हुन् ।
त्यसैगरी, पथरीशनिश्चरे–९ की इन्द्रकुमारी राई लिम्बूले पनि मिटरब्याजमा ऋण लगाउने गरेको पीडितहरूको गुनासो छ । इन्द्रकुमारीले छिमेकी देवीमाया राईलाई पाँच वर्षअगाडि १ लाख ५० हजार रुपैयाँ ऋण दिएकी थिइन् । उनले पटक–पटक गरी १ लाख ५० हजारको ३० लाख रुपैयाँ दिइसकेको सुनाइन् । अझै ४९ लाख ७० हजार रुपैयाँ दिनुपर्ने भन्दै दिनहुँ टर्चर दिने गरेको उनको गुनासो छ ।
‘ऋण तिर्दातिर्दा भएको सम्पत्ति सबै रित्तियो । तर ऋण अझै बाँकी छ भन्न साहुहरूले कहिल्यै छोडेनन्’ जिल्ला प्रशासन कार्यालय परिसरमा भेटिएकी देवीमाया राईले भनिन्, ‘१ लाख ५० हजार ऋणको ३० लाख रुपैयाँ दिइसक्दा पनि अझै ऋण चुक्ता भएन ।’ साहुले अझै साँवा र ब्याज गरेर ४९ लाख ७० हजार दिनुपर्ने भन्दै चेक बाउन्समा मुद्दा हालेको उनले बताइन् ।
ज्ञापन–पत्र बुझ्दै मोरङका प्रमुख जिल्ला अधिकारी यादवले घटनाका विषय बुझेर प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिने बताए । यता मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले दुवै पक्षलाई छलफलमा बोलाएर घटनाका विषयमा बुझ्न इलाका प्रहरी कार्यालय पथरीलाई भनेको बताए ।
यसरी एकपछि अर्को गर्दै मिटर ब्याजको जालोमा पर्ने उल्लेखित घटना प्रतिनिधिमूलक हुन् । गृह मन्त्रालयले मिटरब्याज पीडितलाई प्रशासनमा उजुरी दिन आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मात्र २ सय २० जना बढी मिटरब्याज पीडितले निवेदन दर्ता गराएको जिल्ला प्रशासन कार्यालय मोरङको अभिलेखमा देखिन्छ । प्रशासनमा दर्ता भएका २ सय २० मध्ये ५७ वटा निवेदन उपर दुवै पक्षबीच सहमति भएको छ । १५ वटा निवेदन दुवै पक्षबीच सहमति नभएपछि अदालतमा पठाएको छ भने १ सय ६३ निवेदन विचाराधीन रहेको जनाइएको छ ।