कानेपेखरी (मोरङ) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनको राजनीतिले पार्टीलाई घाटा भएको बताएका छन् । ‘जनतासँग माओवादी तराई मधेश जागरण अभियान’अन्तर्गत मोरङको कानेपोखरी गाउँपालिकाको रमाइलो बजारमा आयोजित खबरदारीसभा तथा दोस्रो गाउँ सम्मेलन उद्घाटन गर्दै अध्यक्ष दाहालले आगामी चुनावमा गठबन्धन राजनीतिको भूल नदोहो¥याउने बताएका हुन् ।
गठबन्धन गर्दा कांग्रेस र एमालेलाई नै फाइदा भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अब त्यस्तो गल्ती नगर्ने बताएका हुन् ।
त्यस्तै उनले आफ्नो पार्टीको पक्षमा देखिएको जनताको आकर्षणले पूर्वबाट रातो सूर्य उदाउँदै गरेको समेत दाबी गरे । पछिल्लो समय पूर्वमा माओवादी र यसको एजेन्डाप्रति देखिएको आकर्षणले पूर्वमा रातो सूर्य उदाएको पुष्टि भएको भन्ने उनको भनाइ छ ।
पछिल्लो समय वर्ग र समुदायसँग अलि टाढा हुँदै गएको अनुभूतिसहित फेरि आफ्नो वर्ग र समुदायमा फर्कने निर्णयले जनतामा नयाँ उत्साह ल्याएको अध्यक्ष दाहालले बताए । २०६४ सालमा जनताले माओवादीलाई विश्वास गरे पनि पार्टी आफैं सम्हालिन नसक्दा र आफ्ना एजेन्डा सम्हाल्न नसक्दा आफ्नो वर्ग र समुदायले नै आशंका गर्ने अवस्था बन्न पुगेकाले गम्भीर आत्मसमीक्षासहित पार्टी फेरि आफ्नै वर्गमा फर्केको उनको भनाइ छ ।
अध्यक्ष प्रचण्डले पछिल्लो स्थानीय तहको उपनिर्वाचनसम्म आइसक्दा यो व्यवहारिक रूपमै पुष्टि भएको र ८४ को निर्वाचनमा पुग्दा यसको देशव्यापी प्रभाव देखिएको बताए ।
अहिले एकातिर जनताले चाहे जति अधिकार पूर्ण नभएको र अर्कोतिर काङ्ग्रेस एमाले जस्ता दलहरूले भएकै संविधान लागु गर्न नचाहिरहेको उल्लेख गर्दै उनले ती दलले संविधानमा जता हेर्दा पनि माओवादीकै एजेन्डा देख्ने गरेको बताए । जनताले पाएको अधिकार सुनिश्चित गर्दै सबै जाति, भाषा र संस्कृतिको रक्षा तथा समुदायको पहिचान स्थापित गर्न अब आफ्नो पार्टीले नेतृत्व गर्ने र त्यसमा आम उत्पीडित समुदायले साथ दिनुपर्ने उनको भनाई थियो ।
अब उत्पीडित समुदायले पाएको अधिकार खोस्नु इतिहासको चक्का उल्टोतिर घुम्नु सरह भएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले आफ्नो पार्टी उत्पीडित समुदायको पक्षमा रहेको सङ्कल्प गर्न अभियान ल्याएर आएको बताए । उनले आजको दिनमा नेपाल राष्ट्र र नेपाली जनताको अधिकारको रक्षा माओवादी बाहेक कसैले गर्न नसक्ने स्पष्ट गर्दै साथ सहयोगका लागि जनतालाई आग्रह गरे ।
प्रचण्डले हिजो आफ्नो पार्टीलाई कसैले दया मायाले ठूलो पार्टी बनाएको नभई नेपाली जनताको बलले स्थापित भएको उल्लेख गर्दै अब पनि जनताको एकताबद्ध प्रयासबाट आफूहरू अगाडि बढ्ने बताए ।
कानेपोखरी गाउँपालिकामा एक हजार भन्दा बढी व्यक्तिहरु अन्य पार्टी परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेपछि उनले देशव्यापी रूपमा जनलहर आफूहरुतर्फ आकर्षित भइरहेको भन्दै त्यसले ऊर्जा मिलेको बताएका छन् ।
जयराज लिम्बुसहित सयौं जना माओवादी केन्द्रमा प्रवेश
लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान गरेका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौं जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
लामो समय काङ्ग्रेमा सक्रिय लिम्बु २०७९ को निर्वाचनमा कांग्रेस छाडेर स्वतन्त्र रुपमा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए ।
जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा उनीसहित विभिन्न पार्टीमा आबद्ध नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनीहरुलाई पार्टी प्रवेश गराए ।
कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी पार्टी प्रवेश गरेको माओवादी केन्द्र कानेपोखरी इन्चार्ज अम्बिका अर्यालले जानकारी दिए । पार्टी प्रवेश गरेका लिम्बुले आगामी निर्वाचनमा माओवादीको पक्षमा दुईतिहाइ बहुमत ल्याएर कोशी प्रदेशको नाम खारेज गरेर पहिचान स्थापित गर्न आफू माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।
अब माओवादीलाई पहिचान पक्षधरको छाता पार्टी बनाउन योगदान गर्ने उनको भनाई छ । कांग्रेसले विपीको सिद्धान्त छाडेर दलाल पार्टीमा परिणत भएको र एमाले बिचौलिया तथा भ्रष्टाको संरक्षक भएकोले अब मुलुक बनाउन माओवादीमा प्रवेश गर्न सबैलाई उनले आग्रह समेत गरे ।
सहिद परिवारसँग भेटघाट
नेकपा माओवादी केन्द्रले सोमबारदेखि सुरु गरेको जनतासँग माओवादी तराई मधेस जागरण अभियानको केन्द्रीय टोली मंगलबार दोस्रो दिन मोरङ पुगेको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका केन्द्रीय पदाधिकारीहरुले मोरङको कानेपोखरी गाउँपालिका ६ नर्सरीडाँडास्थित सहिद लक्ष्मी फुयालको घरमा पुगेर सहिद परिवारसँग भेटघाट गरेका छन् । सो अवसरमा अध्यक्ष प्रचण्डले जनयुद्धका सबै सहिदलाई राष्ट्रिय सहिद घोषणा गरिएको उल्लेख गर्दै सत्यनिरूपण तथा मेलमिलाप आयोग बनेपछि भने पीडित परिवारलाई न्याय र परिपूरणको व्यवस्था हुने बताए ।
सहिद परिवारका सदस्यहरुले आफ्ना परिवारका सदस्यको रगत खेर जान नदिन माओवादी पार्टीलाई बलियो बनाउनुपर्ने, उनीहरुको सपना पूरा गर्नुपर्ने, हरेक वर्ष स्मृति दिवस मनाउन पार्टीले क्यालेन्डर बनाउनुपर्ने, सहिदको गाउँमा सहिद पार्क बनाउनुपर्ने सुझाव दिएका थिए ।
अभियानअन्तर्गत केन्द्रीय टोलीले एक दिन, एक जिल्ला, एक जिल्ला तीन मुख्य कार्यक्रम गर्दै छ । जसअनुसार मंगलबार मोरङको कानेपोखरीको रमाइलो बजार, आमबारी रतुवामाई र कर्सिया धनपालथानमा सभा गरेको छ भने सहिद परिवार तथा अन्य समुदायगत भेटघाट आयोजना गरिएको छ ।
माओवादी फेरि जाग्ने उद्घोष
नेकपा (माओवादी केन्द्र)ले महत्वका साथ प्रचार गरेको ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ सोमबार झापाबाट सुरु भएको छ । अभियानमा उद्घाटन उत्साहजनक भएको माओवादी अध्यक्ष प्रचण्डले बताएका छन् ।
कचनकबल गाउँपालिको बनियानीमा विभिन्न कार्यक्रमपछि अभियान उद्घाटन र बाह्रदशी गाउँपालिको राजगढ बजारमा भएको सभालाई सम्बोधन गरेर झापा गाउँपालिकाको कामाटोली बजारमा प्रचण्डसहितको टोली पुग्दा साँझको ७ बजेको थियो । त्यसबेला पनि सयौं जनताहरु लाम लागेर बसेका थिए ।
अभियानको क्रममा झापामा सोमबार साना र ठूला गरी ७ वटा कार्यक्रम भएको माओवादी संयोजक राजु आचार्यले बताए । ‘झापाको अभियान ऐतिहासिक सफल भयो । झापाका कार्यकर्ता नेताहरु प्रचण्डसँगै नाचे, हाँसे । अभियान सशक्त भयो । एउटा जागरण आएको छ । सबै जनताहरु उद्धेलित भए । सबै जानले प्रचण्ड पुग्दा घरघरबाट फुलमाला लिएर स्वागत गरेका छन्,’ उनले भने, ‘आगामी राजनीतिका लागि हामीलाई धेरै सहज भएको छ ।’
अभियानमा अध्यक्ष प्रचण्डसहित नेताहरू वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु अग्निप्रसाद सापकोटा र पम्फा भुषाल, महासचिव देव गुरुङ, उपमहासचिवहरु वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्ति बस्नेतलगायत सहभागी छन् । अभियानमा पुगेका नेताहरुले विहानै किच्चकबधबाट सगरमाथा चोकसम्म मर्निङ वाक गरेका थिए ।
पछिल्लो समयमा पार्टीभित्र जनार्दन शर्माले प्रचण्डको विरुद्ध गतिबिधि गरेको प्रचार भइहरेको बेला शर्मा र अर्का नेता वर्षमान पुनलाई प्रचण्डले अंगालो हालेको विषय चर्चामा रह्यो । त्यसले पार्टी एकताको सन्देश दिएको नेताहरुले बताएका छन् । अभियान उद्घाटन अगाडि सबै कार्यक्रममा नेताहरु सामुहिक रुपमा सहभागी भएका थिए भने खाना र खाजा पनि सँगै बसेर खाएपछि सभामार्फत पार्टी एकताको सन्देश प्रवाह गरे ।
प्रचण्डसहितका नेताहरुले करिब तीन किलोमिटर मर्निङवाकको क्रममा पनि स्थानीयसँग अन्तरक्रिया गरेका थिए । त्यस क्रममा उनीहरुले पुराना कम्युनिष्ट अभियान्ता हरि अधिकारी र बेदनिधि निरौलालाई सम्मान गरे । सम्मान गर्दै प्रचण्डले क्रान्तिको प्रतिक मानिने झापालाई अहिले प्रतिक्रान्तिको प्रतीक बन्ने खतराबाट जोगाउनु जरूरी रहेको बताए । झापाले अब समाजवादी क्रान्तिको लागि भूमिका खेल्नुपर्नेमा उनको जोड थियो ।
प्रचण्डसहितका नेताहरुले नेपालकै होचो भूभाग केचनकवलमा राष्ट्रिय झन्डा फहराए । पर्यटकीय रूपमा उच्च सम्भावना भएको यो स्थानबाट नेपालका सांस्कृतिक विविधता र ऐतिहासिक सम्पदाहरूको संरक्षण र प्रवद्र्धनका लागि प्रचण्डले अपील गरे । राजवंशी समुदायसँग अन्तरक्रिया गरि उनीहरुका कुरा सुने ।
त्यसपछि प्रचण्डसहितका नेताहरु बालुबाढीस्थित सहिद सुनिल राजवंशीको घरमा पुगेर खाना खाए । स्थानीय पार्टी कमिटिले व्यवस्थापन गरेको मेसको खाना राजवंशी समुदायका आग्रहमा उनीहरुकै संस्कार अनुसा।र प्रचण्डसहितका नेताहरुले भुईमा बेर केराको पातमा खाएका थिए । खाना खुवाउने क्रममा राजवंशी समुदायले आफ्नो संस्कार अनुसार प्रचण्डसहित नेताहरुको हातसमेत आफैं धोइदिन खोजेका थिए । तर, प्रचण्डले आफैं धुन्छौं भन्दै अस्वीकार गरे ।
खाना खाएपछि अभियान उद्घाटन कचनकबल बजारको हुकाहुकी चोकमा भएको थियो । उद्घाटन कार्यक्रममा नेताहरुले पार्टीले विगतमा केहि कमजोरी गरेको भएपनि अब जनतामा फर्किएको र २०६४ फर्काउने उद्घोष गरे । अभियानको पहिको दिनको कार्यक्रम निकै उत्साहजनक भएको उल्लेख गर्दै प्रचण्डले माओवादीप्रति जनतामा आकर्षण बढिरहेको र नेता कार्यकर्ताको आत्मविश्वास बढ्दै गएको पाएको बताए ।
अध्यक्ष प्रचण्डले आफूहरु जनतामा फर्किएको बताउँदै सरकारमा कुनै सरोकार नरहेको बताए । उत्पीडित समुदायका मुद्दा र जनताको अधिकार बहालीको लागि अन्तिम अभियान सुरु भएको उनले बताए ।
जनताले संघर्षमार्फत प्राप्त गरेका राजनीतिकको रक्षा र कार्यान्वयनका लागि अभियान सञ्चालन गरेको बताउँदै प्रचण्डले जनताले प्राप्त गरेका अधिकार खोस्ने प्रयास स्वीकार्य नहुने बताए । पूर्वी दक्षिण क्षेत्रको उत्पीडित समुदाय राजबंशीको बसोबास रहेको कोच क्षेत्रबाट अभियान सुरु गरेर पश्चिम दक्षिण क्षेत्रको थारु सघन वस्ती कन्चनपुरमा अभियान समापन गरिने जानकारी दिदै उनले यसले पार्टीलाई आफ्नो वर्ग र समुदायमा फर्काउन सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
अभियान जनतासँगको अन्तरसंवादको अभियान भएको उल्लेख गर्दै प्रचण्डले सबैभन्दा दक्षिण क्षेत्रमा रहेका जनताको समस्या सुन्ने, प्राकृतिक स्रोत साधनको सम्भाव्यताको खोजी गर्दै तत्काल गर्न सकिने कामका लागि राज्यको ध्यानाकर्षण गराउने र दीर्घकालीन रुपमा गर्न सकिने कामलाई योजनाबद्व रुपमा अघि बढाउने उल्लेख गरे ।
अभियानलाई नेता आउने भाषण गर्ने अभियानको रुपमा भन्दा सबै क्षेत्रका जनताको कुरा सुन्ने र अधिकतम् समस्या समाधानका लागि पहल गर्ने अभियानको रुपमा अघि बढाउन खोजेको उनको भनाइ छ ।
अभियानको क्रममा जनताबाट एकैदिन सयौं ज्ञापनपत्र प्राप्त भएको र त्यसले नागरिकको वास्तविक समस्या बुझ्न मद्दत पुगेको बताउँदै प्रचण्डले पार्टीको आगामी कार्यक्रम निर्माण गर्न त्यो कोषेढुंगा हुने दावी गरे । वैशाखमा मध्यपहाड र हिमाली क्षेत्रका जनताको बिचमा जान मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान चलाउने उनले जानकारी दिए ।
यो अभियानले पार्टीलाई नयाँ उचाईमा उठाउँदै बताउँदै पार्टीका प्रदेश इञ्चार्ज हरिबोल गजुरेलले २०६४ फर्काउने संकल्पसहित अगाडि बढेको दावी गरे । अध्यक्ष प्रचण्डले पूर्वलाई प्राथमिकता दिँदा नेता तथा कार्यकर्तामा पनि त्यो आत्मविश्वास पैदा भएको उल्लेख गर्दै उनले समाजवादको आधार पूर्वी नेपाल र मधेश हुने भएकोले त्यहि अनुसार पार्टी केन्द्रित हुन थालेको बताए ।
माओवादी केन्द्रले तराई–मधेशमा आफ्नो साङ्गठनिक आधार बलियो बनाउन विशेष अभियान सञ्चालन गरेको हो । विगतमा तरार्ई–मधेशमा मधेशवादी दलहरूले प्रभुत्व जमाएका छन् भने कोशी प्रदेशको झापा, मोरङ र सुनसरीमा एमाले, काँग्रेस, राप्रपा भन्दा माओवादी पछि छ । त्यो अवस्थामा सुधार ल्याउन माओवादी केन्द्रले विशेष रणनीति अपनाएको देखिन्छ ।
प्रतिगमनको खतराविरूद्ध खबरदारी गर्दै संविधान रक्षा, सुशासन, सामाजिक न्याय र समृद्धिको बाटो हुँदै समाजवादी क्रान्तिको आधार तयार गर्नका लागि अभियान सञ्चालन गरिएको माओवादीले जनाएको छ । दलाल, विचौलिया तथा भ्रष्टाचारीलाई संरक्षण गर्ने सरकारी प्रवृत्तिको विरोध र भण्डाफोर गर्न, अध्यादेशमार्फत् राज्य सञ्चालन गर्ने र देशलाई दुईदलीय तानाशाहीतर्फ लैजान खोज्ने सरकारको निरङ्कुश प्रवृत्तिको विरोध गर्दै भूमिहीन, सुकुम्बासी, अव्यवस्थित बसोबासीका समस्या तत्काल समाधानका लागि दबाब दिनलगायत अन्य धेरै विषयलाई सम्बोधन गर्नका लागि दबाब दिने उद्देश्यले अभियान सञ्चालन गरिएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष हर्कबहादुर नेम्बाङ मिक्सोले बताए ।
अभियानकै क्रममा प्रचण्डले यो अभियान चैत ७ गते कन्चनपुरमा पुगेर समापन हुनेछ । गत पुस २१ देखि २३ गतेसम्म बसेको केन्द्रीय समिति बैठकको निर्णयअनुसार अभियान सुरु भएको हो । यो अभियान सकिएपछि वैशाखमा मध्यपहाडी लोकमार्ग केन्द्रित जनतासँग माओवादी पूर्वपश्चिम् जागरण अभियान सञ्चालन हुने जनाइएको छ ।
नारायणकाजी रिसाए
अभियान उद्घाटनकै क्रममा प्रचण्डले नेताद्वय जनार्दन शर्मा र वर्षमान पुनलाई अँगालो हालेको दृश्य चर्चाको विषय बन्यो । यस्तै पार्टीका बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले मञ्चमा देखाएको असन्तुष्टिले पनि तरङ्ग ल्यायो ।
प्रचण्डले शर्मा र पुनलाई सार्वजनिक रुपमा अँगालो हालेर पार्टीभित्र कुनै समस्या नरहेको सन्देश दिएका छन् । पार्टीभित्र शर्मा र पुन प्रतिस्पर्धी मानिन्छन् । दुवै नेतालाई सन्तुलनमा राख्न प्रचण्डलाई बेलाबेला संकट पर्ने गरेको छ । अभियान उद्घाटनको क्रममा नेतृत्वको टिम नै रुपान्तरित भएर अगाडि जानुपर्ने शर्माले बताए भने वर्षमानले प्रचण्डकै नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न आफूहरु जनताको बिचमा आएको बताए ।
कार्यक्रममा नारायणकाजी श्रेष्ठले बोल्दा–बोल्दै झोंक्किएर पोडियम छाडेका थिए । उनले बोलिरहेको बेला कार्यक्रम सञ्चालक रहेका झापाका माओवादी संयोजक राजु आचार्य छेउमा उभिएका थिए । त्यसैक्रममा श्रेष्ठ, ‘मैले सक्नुपर्ने भयो ?’ भन्दै रिसाएका थिए । आचार्यले ‘होइन, होइन’ भन्दा पनि उनले आफ्नो मन्तव्य नराखी हिँडेका थिए ।